एजेन्सी: धेरैलाई चुरोटले हाम्रो स्वास्थ्यमा असर गर्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि यसको सेवन गरेको पाइन्छ । यसको लत एकपटक लागेपछि चटक्कै छोड्न निकै गाह्रो हुने चिकित्सकहरु बताउँछन्।
धेरैले चाहेर पनि चुरोटको सेवन छोड्न सकिरहेका हुँदैनन्। चुरोटको सेवन छोड्ने धेरै तरिकामध्ये आफूलाई लाग्ने एक तरिका अपनाउनु जरुरी हुन्छ । यसको लागि समय मिलाएर एउटा योजना बनाउन आवश्यक हुन्छ । चुरोटको परित्याग गर्ने कुनै एक दिन निश्चय गरी यसको सेवन पूर्णरुपमा बन्द गर्न सक्नुपर्छ। यसका लागि नयाँ वर्ष, जन्म दिन या कुनै पर्व रोज्न सकिन्छ।
यस्तै चुरोट छोड्नका लागि परिवार र आफन्तको पनि सहयोग लिन सकिन्छ । चुरोट छोड्ने बेला पुन खान मन लागेमा के गर्ने भन्ने विकल्पको बारेमा पनि सोच्न जरूरी हुन्छ । जस्तै यस्तो बेलामा चुरोटको सट्टा चकलेट, चुइंगम, ल्वाङ, सुकमेल मुखमा राख्न सकिन्छ ।
चुरोट छोड्ने बेलामा एउटा मात्रै त हो नि भन्ने विचार मनमा आउन दिनुहुँदैन । एउटा मात्र भन्दा फेरि पहिले जस्तै लत बस्न सक्छ । आफूलाई काममा ब्यस्त राखेर पनि यसतर्फको ध्यान हटाउन सकिन्छ ।
चुरोट सेवन गर्ने ब्यक्तिहरुको संगत सकेसम्म नगरेमा सजिलो हुन्छ । यदि सेवन गर्ने ब्यक्ति छन भने आफनो अगाडी सेवन नगर्न आग्रह गर्नुपर्छ । राती चाँडै सुत्दा चुरोटकोवारेमा कम सोचिन्छ । शुरुको एक साता अलि अप्ठेरो भए पनि बिस्तारै यसलाई भुल्न सकिन्छ । चुरोट छोडेको कुरा सबैलाई भन्न जरुरी छ यसले फेरी शुरु गर्नबाट रोक्न मद्धत गर्छ।
यो पनि- यस्ता छन् बदामका अनेक फाइदा
बदाम सानो भए पनि यो फल असाध्यै बहुगुणकारी छ। बदामको नियमित सेवनले शरीरमा विभिन्न रोग लाग्न त पाउँदैन नै यो बुद्धिवर्धक र सौन्दर्यवर्धक पनि मानिन्छ। यसले रोगसँग लड्ने क्षमता बढाउन मद्दत गर्छ ।
यसमा प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट पर्याप्त मात्रामा पाइन्छ। छाला मुलायम बनाउन मात्र होइन यसमा भएका तत्त्वहरूले मस्तिष्क ताजा राख्न समेत मद्दत गर्छ।
अघिल्लो दिन रातभर भिजाएको बदाम बिहान नियमित रूपमा खुवाउँदा साना नानीहरूको दिमाग तेज हुन्छ। यो प्रयोग वयस्क व्यक्तिमा पनि गर्दा त्यतिकै फाइदा पुराउँछ ।
बदामले मुटु स्वस्थ राख्न पनि मद्दत गर्छ। विभिन्न अध्ययनहरुका अनुसार सातामा पाँच दिन बदाम खानेहरूलाई नखानेको तुलनामा हृदयघात हुने सम्भावना ५० प्रतिशतले कम हुन्छ। बदाममा भएका भिटामिन ईले ‘एन्टी अक्सिडेन्टल’को रूपमा काम गर्छ। यसले मुटुका अन्य रोगहरू हटाउन पनि मद्दत गर्छ ।
बदाममा भएका तत्त्वले मधुमेहजस्ता रोगलाई नियन्त्रण गर्न पनि फाइदा पुर्याउँछ। मधुमेहसँग लड्नसक्ने क्षमता वृद्धि हुन्छ।
बदाममा हुने अधिक मात्राको पोटासियमले शरीरको रक्तसञ्चार सहज पार्न र प्रत्येक अंगमा अक्सिजन पुर्याउन मद्दत गर्छ। यसले हरेक अंगलाई सामान्य रूपले काम गर्न सहयोग पुर्याउँछ।
बदाममा क्याल्सियमको मात्रा अधिक हुन्छ। यसको सेवनबाट ओस्टियोपोरोसिस रोग लाग्ने खतरा पनि कम हुन्छ। बदाम सेवनले दाँतलाई समेत फाइदा गर्छ।
बदाममा फाइबरको मात्रा पनि प्रशस्त हुन्छ। यसले पाचन प्रक्रिया चुस्त राख्नुका साथै कोलोन क्यान्सर हुने खतराबाट धेरै हदसम्म जोगाउँछ।
बदाममा अन्य धेरै प्रकारका सुक्ष्म पौष्टिक तत्व हुन्छन्,जसले शरीरमा शक्ति र ऊर्जा प्रदान गर्छन् त्यसैले सकेसम्म नियमित ४ \५ दाना बदाम खान आवश्यक छ ।