म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, नेतृ आङ सान सुकीसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार बिहानै उनीहरूलाई निवासबाट नियन्त्रणमा लिइएको हो। म्यानमारमा केही समयदेखि सैनिक कू हुने हल्ला चलिरहेको थियो।
सेनाले सोमबार बिहान नेताहरूलाई नियन्त्रणमा लिए पनि यो सैनिक कू भनेको छैन।
नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्कसमेत बिच्छेद गरिएको बिबिसीले जनाएको छ।
गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो।
सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै थियो। सेनाले यो बैठक नराख्न भनिरहेको थियो। गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा सिमित भएको थियो।
आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो। म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो।