विज्ञान प्रविधि

एप्पलले भन्यो- आइफोन आफूभन्दा ६ इन्च टाढा राख्नुहोस्

एप्पलले भन्यो- आइफोन आफूभन्दा ६ इन्च टाढा राख्नुहोस्

एप्पलले आफ्नो प्रयोगकर्तालाई आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको छ। आइफोनले विशेषगरी मुटु राेगीको शरीरभित्र राखिएका मेडिकल उपकरणका कारण असर गर्ने र जोखिमपूर्ण हुने बताएको छ।

सिएनएन बिजनेसका अनुसार शनिबार एप्पलले आफ्नो पेजमा नयाँ आइफोनले पार्न सक्ने जोखिमबारे सूचना प्रकाशित गरेको थियो। जसमा आइफोनमा हुने चुम्बक र रेडियोबाट निस्किने इलेक्ट्रोम्यागनेटिक फिल्डले प्रत्यारोपण गरेर शरीर भित्र राखेको पेसमेकर र डेफिब्रिलेटर जस्ता मेडिकल उपकरणको सम्पर्कमा आएर हानी पुर्‍याउन सक्ने उल्लेख गरेको छ ।

कम्पनीले मुख्यगरी नयाँ आइफोन १२ का चारवटा मोडल र त्यसको चार्जर म्यागसेफबाट सचेत रहन भनेको छ।

एप्पलका अनुसार आइफोन १२ का मोडलमा पुराना आइफोनमा भन्दा बढी चुम्बक हुन्छ। यसैगरी मुटु रोगीले लगाउने मेडिकल उपकरणमा पनि एउटा सेन्सर हुन्छ, जुन बाहिरी उपकरणमा हुने चुम्बकसँग सम्पर्कमा आउन सक्छ।

सोहीकारण कम्पनीले प्रयोगकर्तालाई आफ्नो आइफोन वा म्यागसेफ चार्जर मेडिकल उपकरणभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको हो।

‘मुटु रोगी प्रयोगकर्ताले सुरूमा आफ्नो चिकित्सक वा मेडिकल उपकरणको निर्मातासँग परामर्श लिएर मात्र आइफोन वा म्यागसेफबाट दुरी अपाउन पर्ने वा नपर्ने भनेर बुझ्नुपर्छ,’ एप्पलले सूचनामा लेखेको छ, ‘यदि प्रयोगकर्तालाई आइफोन १२ वा म्यागसेफले आफ्नो मेडिकल उपकरणमा असर गरिरहेको छ जस्तो लागेमा उनीहरुले आइफोन प्रयोग गर्नु हुँदैन।’

गत वर्ष मात्रै एप्पलले आइफोन १२ का चार नयाँ मोडल सार्वजनिक गरेको हो। आइफोनसँगै कम्पनीले चुम्बकबाट चार्ज गर्न सकिने वायेरलेस चार्जर म्यागसेफ बजारमा ल्याएको थियो।

यी नयाँ उपकरण मुटु रोगी प्रयोगकर्ताको लागि डर हुने भएकोले नै एप्पलले आफ्नो सेफ्टी मार्गदर्शन अझ विस्तार गरेको हो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७