खेलकुद

नेपालका फुच्चे पहलमान ‘भारतमा सुपरहिट’

नेपालका फुच्चे पहलमान ‘भारतमा सुपरहिट’

युट्युवमा नेपालका देव थापाले भारतीय पहलमानहरुसँग कुस्ती खेलेका भिडियो हेर्नुभयो भने त्यहाँ भारतीय दर्शकहरुले देवको समर्थनमा हुटिङ गरिरहेको पाउनुहुनेछ । भिडियोमा सानो कदका देव थापा बडेमानका भारतीय पहलमानसँग साहसिक एवं चतुरतापूर्वक भिडिरहेका देखिन्छन् ।

देवले आफ्नो टेक्निकको बलले विशाल ज्यानका पहलमानलाई आच्छु–आच्छु पार्न सक्छन् । जुन भाइरल भिडियोमा देखिएको भिडन्त राजस्थानको एउटा गाउँमा भएको हो, जहाँ देवले स्थानीय कुस्तीवाज ज्वाला सिंहसँग भिडेका छन् । आफूभन्दा दोब्बर साइज र उमेरका देखिने ज्वाला सिंहलाई छरिता देवले हराबरा खेलाएको देखिन्छ ।

प्रतिस्पर्धा सुरु गर्ने क्रममा सञ्चालकले देवलाई ‘नेपालका सबैभन्दा ठूला पहलमान’ संज्ञा दिन्छन् ।
‘इस से बडा नेपालमे कोही पहलमान नहिँ है,’ उनी भन्छन् ।

वरिपरि भारतीय झण्डा टाँगेर आयोजना गरिएको भिडन्तमा उपस्थित दर्शकले देवको पक्षमा चर्को हुटिङ गर्छन् । आफ्नो देशका पहलमानलाई नेपाली ठिटोले हराएको हेर्न चाहन्छन् उनीहरु । रेफ्रीले पनि देवलाई फेबर गरेको जस्तो देखिन्छ । एकपटक ज्वाला सिंहले निकैबेरसम्म च्याप्दा पनि अम्पायरले उनलाई विजयी घोषित गर्दैनन् ।

११ हजार भारु पुरस्कार राशीको यो भिडन्त अनिर्णित टुंगिएको छ, किनकि ज्वालासिंह अन्त्यमा खेल छोडेर बाहिर भाग्छन् । तर, देवलाई विजेता घोषित भने गरिँदैन । अर्को दिन फेरि भिडन्त हुने भन्दै खेल स्थगित भएको घोषणा सञ्चालकले गर्छन् ।

२५ दिनमा ५४ लाख भ्युज पाइसकेको यो भिडियोमाथि कमेन्ट पोष्ट गर्न नमिल्ने बनाइएको छ । तर, देव थापाले भारतीय पहलमानहरुसँग भिडेका अरु पनि भिडियो यूट्यूवमा छ्याप्छ्याप्ती भेटिन्छन् । भारतीयहरुले उनको कला र साहसको खुलेर प्रशंसा गरेका छन्।

भारतमा ‘थापा पहलमान’ नामले चर्चित देव थापा नवलपरासी जिल्लाका हुन् । करिब २० वर्ष मात्र उमेर भएका उनको उचाई ५ फिट २ इन्च छ । तौल पनि ५५ देखि ६० किलोका मात्र देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal