धर्म/ संस्कृति

कुन राशिको लागि कस्तो रहला सन् २०२१ ? हेर्नुहोस् वार्षिक राशिफल

कुन राशिको लागि कस्तो रहला सन् २०२१ ? हेर्नुहोस् वार्षिक राशिफल

कुन राशिको लागि कस्तो रहला सन् २०२१ ? वार्षिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मेष राशिका व्यक्तिहरूका निमित्त यस वर्ष तिनीहरूको आर्थिक स्थिति अघिल्लो वर्षका तुलनामा अझ सुदृढ रहने छ । तपाईंको राशिमा नयाँ वर्षको प्रारम्भमा राशिस्वामी मंगल ग्रहको उपस्थिति छ, त्यसैले धनार्जनका नयाँ नयाँ स्रोत फेला पर्नेछन् र खर्चको मात्रामा कमी हुनेछ । उधारोमा गएको वा फँसेको धन फिर्ता आउने छ ।

तपाईंका लागि वर्षको प्रारम्भमा नै नोकरी वा जागिरमा राम्रो अवसर प्राप्त हुनेछ । पारिवारिक जीवनको कुरा गर्ने हो भने वर्षको प्रारम्भिक केही महिनाहरूमा परिवारका सदस्यहरूका बीचमा केही वैमनस्य र मनमुटाव उत्पन्न हुने खतरा छ । मनमा शंका र भ्रमको परिस्थिति सिर्जना हुनेछ । मईदेखि जुलाईसम्मको समयमा घरमा हर्षको वातावरण रहने छ त्यसैले आपसी सम्बन्धमा सुधारको लक्षण देखा पर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–

वृष राशिका व्यक्तिहरूमा सन् २०२१ भरि शिरमा राहुको गोचर विद्यमान हुनेछ, त्यसैले यस राशिका मानिसहरू यस वर्ष केही कोराकल्पना र भ्रमको चक्रमा भौंतारिने सम्भावना हुनेछ र परिणामतः निर्णयलाई पटकपटक फेर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ । तपाईंको काममा अवरोध उत्पन्न हुनाले आम्दानीको स्रोत बाधा उत्पन्न हुनेछ ।

यद्यपि अप्रैलपछि अचानक धन लाभको योग बन्नाले तपाईंका समस्त व्यवधान भएका कामधामले निरन्तरता पाउने छन्, तर पनि यस समयमा धनको उपभोग सही ढंगले गर्नु वाञ्छनीय हुनेछ । पेसा वा व्यवसायको कुरा गर्ने हो भने यो वर्ष तपाईंले कडा मिहिनेत गर्नुपर्ने हुन्छ अनि मात्र तपाईंले सफलता पाउन सक्नुहुन्छ । मईदेखि अक्टोबरभित्रको समयावधिमा दुईवटा प्रमुख ग्रहहरूको गतिमा बक्रता हुने भएकाले पेसा वा व्यवसायसम्बन्धी ठूला वा विशेष निर्णय लिनुबाट जोगिएको राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मिथुन राशिका व्यक्तिहरूका निमित्त सन् २०२१ मा शनि ग्रह अष्टम भावमा विद्यमान रहने छ र राहु ग्रहले द्वादश भावमा भ्रमण गर्नेछ । यस वर्ष तपाईंले खर्चबर्चमा नियन्त्रण गर्नुपर्ने र बजेटलाई सन्तुलित बनाउन कसरत गर्नुपर्ने छ । यस वर्षको मार्चको अन्त्यमा बृहस्पति ग्रह केही समयका लागि भाग्य भावमा पुग्ने भएकाले उक्त अवधिमा आकस्मिक ढंगले लाभमूलक काम बन्ने र आर्थिक स्थितिमा तुलनात्मक रूपमा सुधार आउने सम्भावना देखिन्छ ।

ठूलो मात्रामा कुनै लगानी वा धननिवेशको योजना बनाउनु भएको छ भने तपाईंले यस वर्षको अन्त्यसम्म धैर्य गरेको र सम्हालिएको नै जाति हुनेछ । घर घडेरीको व्यवस्थापन गर्न, नयाँ घर बनाउन वा पुरानो घरलाई मरम्मत सम्भार गर्नका लागि यो वर्ष अनुकूल हुनेछ । त्यस्तै नयाँ सवारीसाधन खरिद गर्ने सपना पनि यस वर्ष पूरा हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सप्तम भावमा शनिदेवको उपस्थिति रहने र लग्न, भाग्य तथा गृहसुख भावमा यसको पूर्णदृष्टि रहने भएकाले कर्क राशिका व्यक्तिहरूका निमित्त नयाँ वर्ष सन् २०२१ कडा मिहिनेत, अनुशासन र कर्तव्यपालनाको वर्ष हुनेछ । धनसम्पत्ति र रकमकलमको मामिलामा तपाईंले मानसिक तनाव झेल्नुपर्ने परिस्थिति हुनेछ ।

मार्चदेखि उताका चार महिना लटरी वा चिट्ठा पर्ने अथवा अचानक कुनै उचित स्थानमा ठूलै धननिवेश हुने योग सिर्जना हुनेछ । आर्थिक स्थितिलाई नै विचार गर्दा यो वर्ष सालभर सामान्य र उतारचढावले युक्त समय हुनेछ । यद्यपि अगस्टदेखि वर्षान्तसम्म खर्चको मात्रामा अत्यधिक बृद्धि हुनेछ । रोजगारी र व्यवसायी जीवनको कुरा गर्ने हो भने यस वर्ष कर्क राशिका व्यक्तिहरूका निमित्त प्रारम्भिक केही समय बन्द व्यापारमा अति राम्रो परिणाम मिल्ने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सिंह राशि हुनेहरूका लागि सन् २०२१ मा राहुको प्रभाव कर्मक्षेत्रमा रहेकाले यो साल कार्य र कार्यक्षेत्रका सम्बन्धमा केही अन्यौलता र भ्रम उत्पन्न हुनेछ । आर्थिक दृष्टिकोणले यो वर्ष शुभ साबित हुनेछ । तपाईंका अवरुद्ध भएका वा रोकिएका कामहरू अब छिटै नै सम्पन्न हुनेछ । घर निर्माण वा मरम्मतको सपना पूर्ण हुनेछ ।

जग्गाको कारोबार गर्ने अथवा जसले घर घडेरी वा जग्गाजमिन किन्ने सोच बनाउनु भएको छ, तिनलाई राम्रो मुनाफा हुनेछ । कार्यक्षेत्रको बोझ बढने वर्ष हो, सन् २०२१ । तर जे गरेपनि आर्थिक सुदृढता र रकमकलमको विषय नै यस वर्ष चिन्ताको विषय बन्न जाने सङ्केत छ । पेसा वा व्यवसायको कुरा गर्ने हो भने कार्यक्षेत्रमा सफलता मिल्ने वर्ष हो सन् २०२१ र नयाँ अवसर प्राप्त हुनाले तपाईंको आत्मविश्वास र उमंगमा अभिबृद्धि हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिको राशिकुण्डलीमा यस वर्ष तृतीय भावमा केतु र नवम भावमा राहुको गोचर रहने वर्ष छ, सन् २०२१ । कन्या राशिका व्यक्तिहरूका निमित्त यो वर्ष आर्थिक दृष्टिले अघिल्लो वर्षको तुलनामा अझ सुदृढ बन्दै जाने समय छ । वर्षको मध्यभागमा जग्गाजमिनको कारोबार गर्दा वा स्थिर सम्पत्तिमा लगानी गरेमा लाभकारी हुनेछ । यस वर्ष तपाईंको कुलसम्पत्ति केही न केही बृद्धि हुने सङ्केत छ ।

व्यापारी व्यवसायीहरूले आफ्नो कारोबारबाट राम्रो मुनाफा लिन सक्नेछन् साथै लामो समयदेखि फँसेको धन उकास्ने वा रोकिएको धन उकास्ने अवसर पाउनु हुनेछ । कार्यक्षेत्रमा नयाँ र नौला व्यक्तिहरूसँग उठबस गर्ने मौका मिल्नेछ । काममा जाँगर चल्ने छ, लक्ष्यमा सजिलै पुग्न सक्नुहुनेछ । बढुवा वा प्रशंसा पाउने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आर्थिक दृष्टिकोणले सन् २०२१ को प्रारम्भ तुला राशिका व्यक्तिहरूका निमित्त राम्रै हुने सङ्केत छ । आम्दानी र खर्चको अनुपात बराबर हुने वर्ष हो, यो वर्ष । यद्यपि पहिलेको तुलनामा तपाईंको आर्थिक हैसियतमा केही न केही बढावा नै हुनेछ । यस वर्ष घर, घरघडेरी वा जग्गाजमिनको कारोबार गर्ने मुडमा हुनुहुन्छ भने हतारमा निर्णय नगर्नु होला, गर्नै परेमा विज्ञ र जानकारको सल्लाह लिनु मुनासिब हुनेछ ।

नयाँ वाहन लिने वा पुरानो घर मरम्मत गर्ने योजना बनाउनु भएको छ भने मईदेखि अक्टोबरको बीचको समय उचित हुनेछ । त्यस्तै कुनै पुरानो समस्या सुल्झाउन वा मरम्मत सम्भार गर्न यस वर्षको मध्यभागमा ठूलै धन खर्च हुने सम्भावना छ । त्यस्तै तपाईंले शेयर कारोबारमा धन लगानी गर्ने योजना बनाउनु भएको छ भने यस वर्ष मईदेखि पहिले नै वा अक्टोबर महिना प्रारम्भ भएपछि गर्नु समुचित हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

वर्षको सुरुवातका केही महिनाहरूमा नै यसको सङ्केत प्राप्त हुनथाल्नेछ । शेयर कारोबार, जग्गाजमिन वा कुनै कम्पनी वा साझेदारीमा गरेको लगानीले राम्रो मुनाफा र प्रतिफल दिलाउने छ । तर पनि तपाईंले पनि दुईवटा ठूला ग्रहहरू बक्री हुने समयावधि मईदेखि अक्टोबरसम्मको अवधिमा आर्थिक कारणले समस्या भोग्ने परिस्थिति बन्न सक्छ ।

त्यसैले कुनै ठूलो लगानी गर्ने मुडमा हुनुहुन्छ भने सन् २०२१ को मध्यभागमा मुट्ठी बाँधेकै जाति हुनेछ । यस अवधिमा बजेटलाई सन्तुलित बनाउन हम्मेहम्मे पर्ने भएकाले खर्चबर्चमा नियन्त्रण गरेको राम्रो हुन्छ । वर्षको अन्तिम भागमा पैतृक सम्पत्तिको बाँडफाँड हुने वा कुनै पुरानो सम्पत्तिको बिक्रीबट्टा हुनगई केही आर्थिक लाभ हुने सम्भावना रहेको छ, जसले पुरानो आर्थिक हैसियतमा बढोत्तरी गर्न टेवा पुग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सन् २०२१ । वर्षभरि दोस्रो भावमा शनिदेवको उपस्थिति हुनेछ । खासगरी मईदेखि सेप्टेम्बरसम्म राशिस्वामी बृहस्पति र शनिदेव दुबैमा बक्र गति हुने हुँदा ठूलै आर्थिक जोखिमको परिस्थिति खडा हुने डर छ । यो वर्ष कतै ठूलै रकमकलम लगानी गर्ने मुडमा हुनुहुन्छ भने आफ्नो निर्णयमा गम्भीरतापूर्वक सोच विचार गर्ने सल्लाह प्रदान गरिन्छ ।

त्यसैले पनि लहडमा वा विना सोच विचार लगानी गर्नबाट तपाईंले जोगिएको नै जाति हुनेछ । तर मार्चभित्र र नवम्बररडिसेम्बरमा अचानक कुनै आर्थिक लाभ मिल्नाले केही राहतको अनुभूति हुन सक्छ । कार्यक्षेत्रमा मस्तसँग खट्ने र उपलब्धी हासिल गर्ने वर्ष हो, यो वर्ष । त्यसैले यस वर्ष तपाईंको मिहिनेत र लगनशीलताले उच्च गति समात्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मकर राशि हुनेहरूको सन् २०२१ भरि आर्थिक दृष्टिकोणले उतारचढावको सामना गर्नुपर्ने समय हो । घरिघरि हातमा पैसै पैसा हुनेछ भने घरिघरि पैसाकै कारण डिप्रेसनमा रहनु पर्ने परिस्थिति बन्नसक्छ । त्यसैले यस वर्ष धनको कारोबारमा निकै सतर्कता अपनाउने वर्ष हो । यो वर्ष प्रायः वर्षभरि नै राशिस्वामी शनिदेव र बृहस्पतिको युतिसम्बन्ध बन्ने भएकाले तपाईंको राशिमा नीचभङ्ग राजयोगको सिर्जना हुनेछ ।

यद्यपि मईदेखि सेप्टेम्बरसम्मको पाँच महिनामा यी दुबै ग्रह बक्र गतिमा जाने भएकाले निकै सतर्कता अपनाउनु पर्छ । यो वर्ष पैतृक सम्पत्तिको बाँडफाँड र सम्पत्तिका निउँमा परिवारमा झैझगडा र विवाद सिर्जना हुने समय हो । त्यस्तै आम्दानीका निमित्त यो वर्ष तपाईंले कडा मिहिनेत र लगनशीलता देखाउने समय पनि हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

त्यसैले आर्थिक दृष्टिकोणले तपाईंका लागि उतारचढाव र जोखिमले युक्त वर्ष हुनेछ, सन् २०२१ । तथापि बृहस्पतिको साथले राजयोग बनेको परिस्थिति रहेकाले यस वर्षको प्रारम्भिक तीन महिना कुने अप्रत्यासित र आशातीत सफलता मिल्नाले ठूलै आर्थिक लाभ पाउन सक्ने सङ्केत पनि छ । यो वर्ष पुरानो लेनदेनको कारोबार वा सट्टापट्टाको कारोबारबाट आर्थिक उपलब्धी हासिल हुनेछ ।

पुरानो घरघडेरीको बिक्री हुने वा व्यवसायिक कारोबारमा परिवर्तन गरिने वा ठाउँ नै फेर्ने परिस्थिति पनि बन्नसक्छ । परिणामतः तपाईंलाई धनराशिको आवश्यकता पर्नसक्छ र ऋण काढ्ने परिस्थिति बन्न सक्छ । खासगरी यो वर्ष छोटो प्रयोजनको आर्थिक कारोबारले फाइदा दिलाउने छ भने लामो प्रयोजनको कामबाट वेफाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आर्थिक दृष्टिकोणले मीन राशि हुनेहरूका लागि सामान्य रहने सङ्केत छ, तर पनि यो वर्ष तपाईंले खर्च व्यवस्थापन गर्न निकै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । जग्गा जमिन, शेयर मार्केट र अन्य कुनै स्थिर सम्पत्ति बढाउन गरेको प्रयास सफल हुनेछ । लटरी, चिट्ठा र सट्टापट्टाबाट पनि केही न केही लाभ नै हुनेछ । तर चल सम्पत्ति अर्थात् व्यापारबट्टा र पशुपन्छीतर्फ नोक्सानी ब्यहोर्नुपर्ने परिस्थिति बन्न सक्छ ।

बन्द व्यापारमा संलग्न व्यक्तिहरूले कार्यक्षेत्रमा उतारचढावको सामना गर्नुपर्ने हुन्छ । वर्षको मध्यभागमा कुनै नयाँ प्रोजेक्ट वा योजनामा आकर्षण हुन सक्छ, अनि उक्त आयोजना पूर्ण गर्न केही धनरकम ऋण काढ्नु पर्ने वा बैंकिङ गर्ने परिस्थिति बन्न सक्छ । यस वर्ष दाम्पत्य जीवन र आपसीसम्बन्ध सुमधुर र आनन्दप्रद बन्ने वर्ष छ । बुढाबुढी मिलेर विदेश यात्रा गर्ने वा उतै सिफ्ट हुने मनसाय राख्नु भएको छ भने ढिला नगर्नुहोला, सफलता मिल्नेछ ।

ज्यो.प. कृष्णप्रसाद कोइराला

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७