विशेष सामाग्री

मामाले मुम्बईको भिखारी गिरोहलाई बेच्दिए : उनिहरुले सद्दे खुट्टा काटेर सडकमा भिख माग्न लगाए..

मामाले मुम्बईको भिखारी गिरोहलाई बेच्दिए : उनिहरुले सद्दे खुट्टा काटेर सडकमा भिख माग्न लगाए..

भारतमा राम्रो रोजगारी पाउने खबर पाएपछि परोहा नगरपालिका ९ रामपुरखापका २५ वर्षीय शेख रमुल्लाह फुरुङ परे । घरपरिवारको सल्लाहमा जाने निधो गरे । आमा नजाबुन खातुनको अनुहारमा खुसीको सीमा रहेन । उनको त्यो खुसी ३ वर्षमै पीडामा परिणत भयो । जाँदा सद्दे छोराको खुट्टा काटिएर अपांग भई फर्केपछि परिवारमा पीडा थपियो ।

अहिले रमुल्लाह हिवलचेयरको मद्दतले यताउता डुल्छन् । केही गर्न सक्दैनन् । ‘युवा अवस्थामा केही गराैं भन्ने जोस,जाँगर थियो,’ उनले भने, ‘सपना सबै चकनाचुर भयो । ठूलो सपना देख्नु बेकार रहेछ । सद्दे खुट्टा काटिएर अपांग हुनुपर्‍यो ।’

भारतस्थित मोतिहारी जिल्ला भण्डार गाउँ घर भएका नाताले मामा पर्ने शेख ओकेसले २०६८ चैतको पहिलो साता घरमै आई मुम्बैस्थित ब्याग कारखानामा राम्रो जागिर लगाइदिने प्रस्ताव गरे । परिवारका सबै सदस्य बसेर उनलाई पठाउने निधो गरे । उनी घरको माइलो छोरा हुन् । कमाउनु भनेको राम्रो कुरा हो भन्ने सबैलाई लाग्यो । नजाबुनका ५ छोरी र ३ छोरा छन् । सबैको विवाहमा ठूलै खर्च लाग्थ्यो । यसले पनि परिवारमा थप चिन्ता थियो । छोराले कमाएर केही राहत हुनेभन्नेमा थिए ।

छोरालाई कमाउन जान लागेपछि घरबाट राम्ररी बिदाइ गरियो । मुम्बै गएको २/४ दिनसम्म घरमा फोन सम्पर्क हुन्थ्यो । ‘एकाएक सम्पर्कविहीन भएपछि मनमा पीडा हुन थाल्यो,’ आमा नजाबुनले भनिन्, ‘३ वर्षपछि स्वस्थ हट्टाकट्टा छोराको जबरजस्ती खुट्टा काटेर सडकमा भिख मागेको अवस्थामा फेला पारियो ।’

मामाले केही समय ब्याग उद्योगमा काम लगाइदिएका थिए । एक दिन घुम्न जाउँ भन्दै साथै लगे । बाहिरी सहरबारे थाहा नभएका रमुल्लाह मामाले जता भन्यो त्यतै लुरुलुरु हिँडे । उनले सीधै चोर बजार लगे । मुम्बैको चोर बजार प्रख्यात छ । ‘त्यहाँ पहिलेदेखि नै भिख माग्ने गिरोहसित मामाको सेटिङ भइसकेको रहेछ,’ उनले भने, ‘मलाई बेहोस हुने सुई लगाएर खुट्टा काटियो । होसमा आएपछि निकै पीडा भयो ।’

नशालु सुई लगाई राति दाहिने खुट्टा काटिदिएको उनले पीडा सुनाए । त्यहाँ सद्दे धेरै मानिसको खुट्टा काटिएर सडकमा भिग माग्न लगाइने गरेको उनले बताए । चिकित्सक सहितको टोली पहिलेदेखि त्यहीं बस्ने गरेको हुन्छ । सबै सेटिङमै हुने गरेको उनको भनाइ छ ।

त्यसपछि घाउ भएकै अवस्थामा उनलाई मुम्बईमा कसैले देखेर चिन्ला भनेर बैंग्लोर पुर्‍याइएको थियो। उनीहरुले बैंग्लोरको सडकमा दिनहुँ लगेर छाड्थे र माग्न लगाउँथे । बिस्तारै घाउ निको हुँदै गयो । ३ वर्ष कष्टकरसितले बिताए ।

मामा ओकेसले भान्जा रमुल्लाहको खुट्टा जानाजानी काटिएको अस्विकार गर्दै आएका छन । उनी सम्पर्कमा छैनन् ।

उनका काका शेख सौकतमार्फत मामाले आफूले भान्जालाई बिक्री गरेको होइन भन्ने सन्देश पठाएका छन् । ‘जानाजानी कसैले खुट्टा काट्न लगाउँदैन, ‘सौकत भन्छन्, ‘यसमा ओकेसको दोष छैन । खुट्टा काटिएको घटनाबारे उनलाई समेत थाहा छैन ।’ उनले भतिजा ओकेसको बचाउ गरे ।

त्यही ३ वर्ष सडकमा भिख माग्ने काम गरे । नाइकेले दिएको माटोको भाडामा मागेर पैसा भर्नुपर्थ्यो । ‘पैसा कम भएको दिन कुटपिट गर्थे,’ रमुल्लाहले आँखाभरि आँसु झार्दै भने, ‘पैसा कमाएर घर परिवारलाई खुसी पार्छु भन्ने सपना रचेको थिए । सबै चकनाचुर भयो । अब न बाँच्नै सक्छु न मर्न नै ।’

उनलाई देख्ने जोकोहीको पनि आँखा रसाउँछ । बैंगलोरको सडकमा बिहानदेखि भिख मागेपछि राति सुत्न नजिकको बैंगलुरू रेल्वे स्टेसन लग्थे । त्यही पेटीमा छाडिदिन्थे । खुला फोहोर स्थानमा कष्टकर हुन्थ्यो । दिनभरि मागेको पैसा नाइके आएर लैजान्थ्यो । सडकमा भिख माग्दै गर्दा गाउँकै शेख मेरादले देखेर सोधे ।

गाउँकै छिमेकी जस्तो लागेर मेरादले केरकार गरे । उनी रमुल्लाह हो भन्ने स्पष्ट भए । उनको घर परिवारलाई खबर गरे । छिमेकी शेख युनुसलाई लिएर बुवा शेख नेकमहम्मद छोरा लिन बैंगलोर पुगे । त्यहाँको प्रहरीलाई छोराको अवस्थाबारे जानकारी गराइयो । प्रहरीले तत्कालै उद्धार गर्‍यो । घटनाबारे सबै जानकारी लिइयो । दोषीलाई करबाहीका लागि प्रहरीमा जाहेरी दिने निधो गरे ।

बुवा नेकमहम्मले छोराको खुट्टा गम्यो, पछि नेपालबाट आएर झमेला गर्नुभन्दा यतिकै लिएर जाने निर्णयमा पुगे । र, घर फर्के । उनका आफन्त भनाउँदा ओकेस सम्पर्कविहीन भए । परिवारका सदस्यले ३ वर्षअघि उनलाई भारतबाट उद्धार गरी ल्याएका थिए ।

अहिले रमुल्लाहको घरमा मामा ओकेश आउन छाडेका छन् । यही कारणले सम्बन्ध तोडियो । ९ महिना अघि बुवा नेकमहम्मदको चिसोका कारण काठमाडौंमा निधन भयो ।
शिव पुरी / कान्तिपुर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal