पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको दुर्घटनामा मृत्यु भएको छ । १७ डिसेम्बरका दिन घरनजिकै हिँडिरहेकी उनलाई पछाडिबाट एक बसले ठक्कर दिएको थियो ।टाउकोमा गम्भीर चोटका कारण उनी कोमामा पुगिन् । ६ दिनसम्म जीवन र मृत्युसँग संघर्ष गरेपछि अन्ततः उनको मृत्यु भएको छ ।
अर्जेन्टिनाकी नोर्मा ८१ वर्षकी थिइन् । डेलीमेल युकेका अनुशार उनलाई ठक्कर दिएर भाग्ने बसको बारेमा अहिलेसम्म केही खुलेको छैन ।
नोर्माले सन् १९६० मा लण्डनमा आयोजित मिस वर्ल्डको उपाधि जितेकी थिइन् । उनी मिस वर्ल्डको उपाधि जित्ने पहिलो अर्जेन्टिनी थिइन् । नोर्मा त्यतिबेला २१ वर्षकी थिइन् ।
यसपछि उनले अरमानी, डियोर जस्ता प्रतिष्ठित ब्राण्डको लागि मोडलिङ गरिन् । मिस वर्ल्डको उपाधि जितेपछि नोर्माले ५ सय पाउण्ड र एउटा स्पोर्टस कार पुरस्कार पाएकी थिइन् ।
मिस वल्ड जितेपछि पनि उनी लामो समय ब्राजिलमा बसिन् र पछि अर्जेन्टिनामा नै जिन्दगी बिताउने भन्दै फर्किएकी थिइन् ।