समाचार

पर्यटकको स्वागतमा तम्तयार मनकामना

पर्यटकको स्वागतमा तम्तयार मनकामना

पोखरा — जीर्णोद्धार गरेपछि गोरखाको मनकामना मन्दिर चिरिच्याट्ट छ । होटल, रेस्टुरेन्ट धमाधम खुल्न थालेका छन् । पूजा सामग्री पसल सजाइएको छ । बन्द भएको ९ महिनापछि आइतबारबाट खुल्न लागेको मनकामना पर्यटक स्वागतमा तम्तयार छ

कोरोना महामारीले गत चैत ८ बाट सर्वसाधारणका लागि मन्दिर क्षेत्र बन्द गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा मनकामना क्षेत्र विकास समितिले आइतबारबाट मन्दिर खोल्ने निर्णय गत मंगलबार गरेको हो । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले समेत गोरखाका धार्मिक क्षेत्रमा लगाएको निषेधाज्ञा फिर्ता गरिसकेको छ ।

आइतबारबाट मनकामनामा धार्मिक पर्यटकको आगमनले चलायमान हुनेमा त्यहाँका व्यवसायी आशावादी छन् । होटल मनकामना इनका सञ्चालक एवं मनकामना पर्यटन विकास समितिका सचिव दिनेश जोशी मनकामना क्षेत्र पुन: पहिलेकै लयमा फर्किने आशा व्यक्त गर्छन् ।

उनका अनुसार मनकामनामा १ सय ४७ पर्यटकस्तरीय होटल तथा लज छन् । २ सय जति रेस्टुरेन्ट छन् । त्यत्ति नै संख्यामा पूजा सामग्री, हस्तकला, स्थानीय उत्पादन बिक्री वितरण गर्ने पसल छन् ।

मनकामना क्षेत्र विकास समितिले मनकामना दर्शन प्रालिसँगको समन्वयमा राखेको तथ्यांकअनुसार केबलकार चढेर अधिकतम एक दिनमा ९ हजार जनासम्म पर्यटक पुगेका छन् ।

सवारी र हिँडेर पुग्ने पर्यटक जोड्दा त्यो संख्या १२–१३ हजार पुग्छ । सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले केबलकारमार्फत १५ लाख, गाडी र पैदल ६ लाखको संख्यामा पर्यटक वार्षिक रुपमा मनकामना पुग्ने बताए । कोरोना महामारीमा हिँडेरै पनि दैनिक २ सयसम्म पर्यटक मनकामना पुगेको उनले सुनाए । दिपक परियारले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७