अर्थ

३२ वर्षीय इन्जिनियरले हाँक्दै गौतम बुद्ध विमानस्थल आयोजना

३२ वर्षीय इन्जिनियरले हाँक्दै गौतम बुद्ध विमानस्थल आयोजना

विमानस्थलले अधिग्रहण गरेको जग्गाको मुआब्जाका लागि बिहान ८ बजेदेखि नै निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको कार्यालयमा सर्वसाधारण जुट्न थाल्छन् । स्थानीयको चित्त बुझाएर पठाएपछि आयोजनाका ठेकेदार र परामर्शदाता कम्पनीसित समन्वय गर्नुपर्छ। विमानस्थल निर्माण चुस्त बनाउन दैनिक कर्मचारी र कामदार गरी ४ सयलाई परिचालन गर्नुपर्छ।

स्थानीय प्रशासन, तालुक मन्त्रालय र दातृ निकायसित छलफल र समन्वय। कार्यक्षेत्रमै टुंग्याउनुपर्ने काम पनि धेरै छन्। ती कामको व्यवस्थापन ३२ वर्षीय आयोजना प्रमुख प्रवेश अधिकारीले गरिरहेको खबर माधव ढुंगानाले कान्तिपुरमा लेखेका छन् ।

युवा हाकिमले राष्ट्रिय गौरवको आयोजनाको नेतृत्व सम्हालेको भने ४ महिना भयो। ३ महिना निमित्त प्रमुख थिए। १ महिनादेखि उनलाई आयोजना प्रमुख तोकिएको छ। विमानस्थलको अन्तिम र संवेदशील चरणको काम अहिले धमाधम चलिरहेको छ।

‘कुर्सीमा बसेर क्षमता विकास हुने होइन,’ उनले भने, ‘व्यक्तिले जिम्मेवारी पूरा गरी क्षमता देखाउन सक्नुपर्छ।’ आयोजना तोकिएको समयभित्र पूरा नभएकाले आलोचना भइरहेको थियो। दुई पटकसम्म म्याद थपियो। डेढ वर्ष धकेलिएको आयोजना पछिल्लोपटक थपिएको म्यादभित्र सम्पन्न गरी देखाउनु पर्ने चुनौती छ।

भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन, ठेकेदार-सहठेकेदारबीच लेनदेन विवादले ढिलाइ भएको हो। डिसेम्बर २०१७ भित्र निर्माण सकिनु पर्थ्यो। काम नभएपछि दोस्रो पटक म्याद थपेर सन् २०१९ जुनसम्म पुर्‍याइएको छ।

निर्माण पूरा भइसक्नु मितिमा यसको प्रगति करिब २५ प्रतिशतमा सीमित थियो। निर्धारित समयमा प्रगति नदेखिएपछि एसियाली विकास बैङ्क (एडीबी) ले आयोजनालाई कालोसूचीमा राख्ने तयारी गरी आर्थिक सहयोग रोकेको थियो।

त्यसले यसको भविष्यलाई लिएर अन्योलता छायो। एडीबीको निर्णयपछि नागरिक उड्ययन प्राधिकरणले निर्माणको भुक्तानीका लागि आफैँले व्यवस्थापन गरेर भए पनि आयोजनालाई निरन्तरता दिने निर्णय गर्‍यो। त्यसपछि एडीबीले पुन: सर्त राख्दै आयोजनाको पहिलो म्याद थप गरिएको अवधिमा ५० प्रतिशत कार्यप्रगति पुर्‍याउनुपर्ने लक्ष्य तोकेको थियो।

यही अन्योलका बेला प्राधिकरणले १० महिनाअघि अधिकारीलाई यहाँ खटाएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले कार्य मूल्याङ्नका आधारमा गौतम बुद्ध विमानस्थल आयोजना प्रमुखमा उनलाई पठाएको बताए।

मन्त्री अधिकारीले भने, ‘विमानस्थल निर्माणको सबै काम सन्तोषजनक रूपमा अघि बढेको छ।’ मन्त्री अधिकारीको बुझाइमा आयोजना प्रमुख प्रवेशले आयोजना निर्माण स्थलमा उत्पन्न हुने समस्याको समाधान तत्काल गरी काम अघि बढाउँदै आएका छन्।

पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। त्यहाँ रहँदा विमानस्थलको पूर्व र दक्षिणतर्फको विमान पार्किङस्थल, धावनमार्ग मर्मत र रबर हटाउने कार्य गरेका थिए। उक्त काम चुनौतीपूर्ण मानिन्छ। यहाँ जिम्मेवारी सम्हालेपछि सबैभन्दा पहिलो परामर्शदाता, ठेकेदार, मन्त्रालय र सरोकारवालाबीच समन्वयलाई जोड दिए।

सन् २०१८ जुन १५ सम्ममा आयोजनाको प्रगति ५० प्रतिशत हाराहारी पुगेपछि एडीबीले आर्थिक सहयोगलाई निरन्तरता दिने निर्णय गर्‍यो। उनी आउँदा प्राविधिक जनशक्ति कमी थियो। जिम्मेवारी प्राप्त परेपछि विभागमा आवश्यकताअनुरुप प्राविधिक उपलब्ध गराउन माग गरे। नत्र जिम्मेवारी बहन गर्न नसक्ने जानकारी गराए।

‘पहिले ठेकेदार र परामर्शदाताबीच पत्राचारबाट मात्र कुराकानी हुन्थ्यो, टेबुलमा सँगै बसेर समस्याको गाँठो फुकाउने काम हुँदैनथ्यो,’ उनले भने, ‘आफैले दुवै पक्षबीच समन्वय गरी निर्णय, नतिजा र कामको निरन्तरता खोज्न थालेपछि कार्यप्रगतीको नतिजा राम्रो आउन थाल्यो।’

७ महिनामा विमानस्थल निर्माण सक्ने लक्ष्य छ। अहिलेसम्म भौतिक प्रगति ६० प्रतिशत पुगेको उनले सुनाए। उनका अनुसार, पूर्वाधार निर्माणसँगै आवश्यक उपकरण खरिद प्रक्रिया सुरु भएको छ। उपकरण खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान (आइसीपी) प्रक्रिया पूरा भइसकेको छ। बोलपत्र दाखेला गरेका कम्पनीको प्राविधिक मूल्याङ्कन भइरहेको र प्रक्रिया चाँडै टुंगिने अवस्थामा छ। बाँकी ४० प्रतिशत काममा आधा उपकरण जडानसँग सम्बन्धित छन्।

‘उपकरण जडान गरिएपछि आयोजनाको प्रगति एकैपटक माथि पुग्नेछ,’ उनले भने, ‘अन्य २० प्रतिशत भौतिक निर्माण पनि निर्धारित समयमा पुरा हुने छन्।’ टर्मिनल भवनमा जडान गरिने लिफ्ट बेल्ट, पाइलट र उडिरहेको विमानको अवस्थाबारे पत्ता लगाउन कन्ट्रोल टावरमा राखिने उपकरण, सूचना उपकरण, ट्याक्सी-वेमा राखिने विद्युतीय उपकरण र ट्राफिक व्यवस्थापनमा आवश्यक पर्ने लगायत उपकरण खदिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस