मुख्य समाचार

बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति

बेलायतमा फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति

लन्डन — कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ ।

बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो ।

फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो । तर, यसलाई भण्डारण गर्न एकदम न्यून –७० डिग्री तापक्रम सेन्टिग्रेड आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।

बीबीसीका अनुसार केही दिनमै कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई खोप दिन सु्रु गरिनेछ ।

बेलायतले करिब फाइजरसँग ४ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ । पहिलो लटमा बेलायतलाई एक करोड डोज छिट्टै उपलब्ध गराइने फाइजरले जनाएको छ । यो खोपको विकास १० महिनाको अन्तरालमा भएको हो ।

बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ ।

कोरोना खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७