विचार/व्लग

के साच्चै ! कालो दिन हो आज ?

के साच्चै ! कालो दिन हो आज ?

– नारायण गाँउले

राजाले ‘महेन्द्र राजमार्ग’ नबनाएको भए प्रजातन्त्र आएको ३० वर्षसम्म पनि नेपालमा पूर्व र पश्चिम नजोडिने रहेछ । यो तीतो सत्य हो । जम्मा एक लेनको र साइकलदेखि ट्याम्पू र पैदलयात्रीदेखि चौपायासम्मले निर्बाध प्रयोग गर्ने यो सड़क ‘राजमार्ग’ होइन । तर हाम्रो ३० वर्षे प्रजातन्त्रले त्यसको विकल्प दिन सकेन ।

आज हामी ३० वर्षदेखि रेलको कुरो गरेर घोषणापत्र लेखिरहेछौं । शायद जनकपुर-जयनगर रेलको केही दिनमा ‘अन्तरिक्ष’मैं पुगेजस्तो भव्य उद्घाटन पनि हुँदै छ । तर त्यो त्यही रेल लाइन हो, जुन राजाको पालामा चल्थ्यो र प्रजातन्त्र आएपछि कार्यकर्ता भर्ती केन्द्र बन्दै थला पऱ्यो ।

राजाले बनाएको नारायणी नदीको पुलको आयु सकियो र पनि चलिरहेछ, लोकतान्त्रिक ‘पप्पू पुल’ हरू उद्घाटन नहुँदै भत्किन्छन् । नारायणी या कर्णालीको पुल भत्कियो भने बन्न अर्को बीस वर्ष लाग्नेछ ।

अरनिको राजमार्गजत्तिको भरपर्दो अर्को उत्तरी नाका जोड्ने राजमार्ग आजसम्म बन्न सकेको छैन, भाषणमा भने धेरै नाका खुलेका छन् । काठमाडौंकै रिंगरोड होस् या एअरपोर्ट, ३० वर्षे प्रजातन्त्रले केही थपेको छैन । १० वर्ष लगाएर त्यही रिंगरोडमा एक-दुई लेन र आकासे पुल थपेको फोटो उपलब्धिका रूपमा देखाउनु परेको छ । राजधानीमा भएको त्यही एउटा घण्टाघर पनि अहिले चल्दैन ।

यत्रो राजधानीमा कुनै एउटा नयाँ पार्क, रङ्गशाला, नाचघर, सभागृह ताल, ढुङ्गे धारा, धर्मशाला या पाटीपौवाजस्ता सार्वजनिक पूर्वाधार थपिएका छैनन् । राजाले देशको शान राख्न बनाइदिएको बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अहिले सम्मेलन हुँदैन । त्यहाँभित्र बसेर राजालाई गाली गरिन्छ । एउटा मात्रै सम्मेलन केन्द्र बनाउन त सकिएन, भएको पनि कब्जा छ । रत्नपार्क त मासियो, अब एउटा बसपार्क बनाउन मिल्ने कुनै नयाँ ठाउँ छैन । त्रिभुवन विश्वविद्यालय अहिले खुल्थ्यो भने त्यो बागबजारको एउटा अग्लो बिल्डिंगमा हुन्थ्यो होला शायद । लोकतान्त्रिक कान्ति बाल अस्पताल, शिक्षण अस्पताल कस्तो बन्थ्यो होला, हेर्ने मन धेरैलाई छ ।

हामीमा दीर्घकालीन सोच, भिजन र इच्छाशक्ति नै छैनजस्तो लाग्छ । ट्रलिबस सिध्याएर दुईवटा विजुली बसको उद्घाटनलाई नयाँ युग भन्न बाध्य छौं । त्यो पनि ग्यारेजमैं छ । हिजो चितवन नेशनल पार्कदेखि बर्दिया राष्ट्रिय निकुञ्जजस्तो संरक्षणवादी काम भएका थिए । हाम्रो पर्यटनको आधार त्यही हो । अहिले हामी रूख काट्ने अभियानमा छौं । खासमा यो ३० वर्षमा जति विकास भएका छन् ती सरकार नै नभएको भए पनि हुने खालका छन् ।

भनिन्छ, ३० वर्षअगाडि नै भारतले नाकाबन्दी लगाउँदा पञ्चायती प्रधानमन्त्री मरिचमानले जहाजबाट मट्टीतेल भित्ऱ्याएका थिए । तर हामीले एकथोपा तेल कहीँबाट ल्याउन सकेनौं । भारतको दया अनि नाकाबाट हुने चोरीको तेल चढेर हाम्रा पूजनीय नेताले नाकाबन्दीको डटेर सामना गर्ने भाषण गरिरहे ।

राजा फाल्नका लागि भने हामीले धेरै गऱ्यौं । भएका सीमित पूर्वाधारमाथि बम पड्कायौं । पुल र टेलिफोन टावर उड़ायौं । हजारौं नागरिकले ज्यान गुमाए । पाँच विकास क्षेत्रलाई काटकुट पारेर सात वटा प्रदेश बनायौं ।र राजाको तीस वर्षे शासन काललाई कालो युग भन्यौं ।

हिजो विश्वकै शक्तिशाली बेलायती रानी हाम्रो राजालाई रिसिभ गर्न स्टेशनसम्म आउँथिन्, आज देश चिनाउन एकनाथ ढकालको शरण पर्नु परेको छ ।

म मानिदिन सक्छु, पञ्चायती शासन कालोयुग थियो । तर अहिलेको युग त्यसभन्दा कालो छ । एउटा कालो युगमा उभिएर अर्को कालो युगलाई सराप्नुको के अर्थ हुन्छ र ? अरू देश इतिहासमाथि गर्व गर्छन् । हामी गर्व नगरौँ तर इतिहासलाई नसरापी पनि त अघि बढ्न सकिन्छ ।

लेखक – नारायण गाँउले

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal