एक महिलाको पूरै परिवारको कोरोनाभाइरसका कारण मृत्यु हुँदा उनले आफ्नो अन्तिम समयमा छोरा जन्माएकी छिन् । अब त्यो परिवारमा ती नवजात बालक एकमात्र जीवित सदस्य भएक छन् ।
महिलाले कोरोनाभाइरसबाट संक्रमित भएर भेन्टिलेटरमा रहेका बेला छोरा जन्माएकी हुन् । छोरा जन्माएपछि महिलाको मृत्यु हुन पुग्यो । उनका मातापिताको पनि कोरोनाभाइरसकै कारण मृत्यु भइसकेको छ ।
घटना रुसको हो । सेन्ट पिटसबर्ग शहरकी स्वेतलाना सोरोचिन्सकाया केही समयअघि पितालाई भेट्न अस्पताल गएकी थियन् । अस्पतालमा उनका पिताको मुटुको सर्जरी गरिएको थियो । स्वेतलाना पितालाई भेट्न अस्पताल जाँदा उनी संक्रमित भएको विश्वास गरिएको छ । पितालाई भेट्न जाँदा उनी गर्भवती थिइन् ।
उता स्वेतलाना प्रसूती अस्पतालमा जाँदा उनीमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भयो । त्यसपछि उनलाई रुसको ठूलो संक्रामक रोगको अस्पतालमा पठाइयो । तीन दिनसम्म अस्पतालमा भर्ना रहेपछि स्वेतलानाले तय मितिभन्दा ६ हप्ता पहिले छोरालाई जन्म दिइन् । यस क्रममा स्वेतलानालाई भेन्टिलेटरमा राखिएको थियो । छोरा जन्मिएको केही घण्टापछि स्वेतलानाको पनि मृत्यु भयो ।
स्वेतलानाको मृत्युको केही दिन पहिले उनकी आमा पनि संक्रमित भएकी थिइन् । १२ नोभेम्बरमा स्वेतलानाकी ६२ वर्षकी आमाको पनि मृत्यु भएको थियो । स्वेतलानाको नवजात छोरालाई अहिले अस्पतालमै राखिएको छ ।