सुरेश हमाल
पोखरा – गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् ।
स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि कोरोनाको समयमा गरेका बिभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन् ।
कोरोनाको महामारीको समयमा सङ्क्रमितको उपचार, क्वारेन्टाइन व्यवस्थापन, तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरूको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरूले गरेका थिए ।