विशेष सामाग्री

काठमाडौंका ट्याक्सी चालकहरु आफैले थाले ‘मिटरमा जाँउ अभियान’

काठमाडौंका ट्याक्सी चालकहरु आफैले थाले ‘मिटरमा जाँउ अभियान’

काठमाडौंका ट्याक्सी चालकहरु आफैले ‘मिटरमा जाँउ अभियान’को थालनी गरेका छन्। शुक्रबार बिहान ७ बजे कलंकी र सीतापाइला चोकको लगभग बीचमा ट्याक्सी चालकहरू धमाधम भेला भएर यस्तो कामको थालनी गरेका हुन् ।

जहाँ एक घन्टामै करिब दुई सय ट्याक्सीको दोहोरीलत्ता बन्यो। दुई सय चालक सडक किनारको ठूलो वृक्षमुनि गोलो परे। प्लास्टिकका कुर्सीहरू राखिए। सानो मञ्च बन्यो। पछाडि रूखका हाँगा र बिजुली खम्बामा बाँधेर नीलो रङको तुल टाँगियो। जसमा सेतो अक्षरले लेखिएको थियो- ट्याक्सी चालक सामाजिक सुरक्षा एवं ट्याक्सी मिटर शुद्धीकरण जनचेतना कार्यक्रम।

यी चालकहरू सामूहिक रूपमा एउटा प्रण गर्दै थिए- ‘हामी आजबाट मिटरमा मात्र हिँड्ने छौं। मिटरमा उठेभन्दा बढी पैसा तिर्न उपभोक्तालाई बाध्य पार्ने छैनौं।’

वर्षौंदेखि मिटर बिगारेर उपभोक्ता ठगेको बात् लाग्दै आएका यी चालकले सम्भवत: पहिलोपटक यस्तो प्रण गरेका थिए।

उनीहरूको एउटा सर्त पनि छ- अहिलेको भाडा दरमा ट्याक्सी चालकको जीविका चल्दैन। काठमाडौंमा बसेर बालबच्चा पाल्न सकिन्न। सरकारले एक महिनाभित्र भाडा समायोजन गरी इमानदारीपूर्वक पेसा गरेर बाँच्न सक्ने वातावरण बनाइदियोस्।

पेसागत शुद्धीकरण अभियानमा लागेका ट्याक्सी चालकहरूको यो कार्यक्रममा बालाजु, कोटेश्वर, कलंकी, चाबहिल, बौद्ध जोरपाटी, त्रिभुवन विमानस्थल, बानेश्वर, भक्तपुर, ललितपुर लगायत विभिन्न ठाउँका प्रतिनिधि उपस्थित थिए। सबैलाई ‘उपभोक्ता नठगौं, असल चालक बनौं’ भन्ने अपिलपत्र बाँडिएको थियो।

केही दिनभित्रै यो अभियान उपत्यकाका झन्डै ११ हजार चालकसम्म पुर्याउने आयोजकले बताएको छ।

काठमाडौंभित्र गुड्ने ट्याक्सीमा ‘हाउ मच’ प्रवृत्ति व्याप्त छ। अधिकांश चालक मिटर चलाउन मान्दैनन्। मनलाग्दी भाडा भन्छन्। नजिकका ठाउँ त जानै खोज्दैनन्। यही प्रवृत्तिले उपभोक्तामा ट्याक्सी व्यवसायप्रति विश्वास घट्दो छ। त्यसैले पनि मिटरमा जाँउ अभियान थालिएको अायोजकले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal