अन्तर्राष्ट्रिय

बाइडेनले पाए अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत

बाइडेनले पाए अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत

डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि उछिनेका छन् ।

त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले ७ करोड २० लाख भन्दा बढी मत प्राप्त गरेका छन् ।

केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ । बाइडेनले अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् । बिहीबार बिहानसम्म ट्रम्पले ६ करोड ८५ लाख(४७.९ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् ।

लोकप्रिय मत बढी पाउँदैमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कठिन छ भन्ने कुरा सन् २०१६ को चुनावले देखाएको छ ।ट्रम्पले भन्दा करिब ३० लाख बढी मत प्राप्त गर्दा पनि हिलारी क्लिन्टन इलोक्टोरल भोटमा पछि पर्दै पराजित भएकी थिइन् । यस पटक अमेरिकी चुनावको इतिहासमै सबैभन्दा बढी मत खसेको पनि बताइएको छ ।

सन् २००८ मा ३० करोड ४० लाख रहेको अमेरिकाको जनसंख्या सन् २०२० मा ३३ करोड पुगेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । यस पटक करिब १६ करोड अमेरिकी नागरिकले मतदान गरेको बताइएको छ । जसअनुसार मतदान गर्न योग्य अमेरिकी नागरिकमध्ये ६७ प्रतिशत यस पटक मतदानमा सहभागी भएका छन् ।

ताजा अवस्थामा डेमोक्रेटिक उम्मेदवार बाइडेन २६४ इलेक्टोरल भोटसहित अगाडि रहेका छन् । ट्रम्प भने २१४ इलेक्टोरल भोटसहित बाइडेनलाई टक्कर दिइरहेका छन् ।

नेभादाबाहेक सबै राज्यमा ट्रम्पले अग्रता लिएका छन् । कुल ६ इलेक्टोरल भोट रहेको नेभादा जितेमा बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने लगभग निश्चित हुनेछ । त्यस्तै जर्जियामा अझै ९० हजार जति मत गन्न बाँकी रहेकाले त्यहाँ पनि बाइडेनले जित्न सक्ने डेमोक्रेटिक पार्टीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७