समाचार

कोरोना संक्रमणबाट पोखरामा ६ जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा ६ जनाको मृत्यु

पोखरा – कोरोना संक्रमणबाट पोखरामा थप ६ जनाको मृत्यु भएको छ । कास्की र तनहूँका गरी ६ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा ३१ की ४२ वर्षीय कोरोना संक्रमित महिलाको गएराति ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा मृत्यु भएको हो । गत १६ गते कोरोना पुष्टि भएका उनमा कोरोनासँगै अन्य दीर्घ रोग समेत रहेको थियो ।

पोखरा २६ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ बजेर २५ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा मृत्यु भएको छ ।

मृत्यु हुने अर्का संक्रमितमा पोखरा २५ र १६ का ५२ र ५९ वर्षीय रहेका छन् । पोखरा २५ का संक्रमितको आज बिहान ७ बजेर ३५ मिनेट जाँदा र वडा नम्बर १६ का संक्रमितको गएराति ११ बजे चरक मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । मृतक दुवै जनालाई गत १५ गते कोरोना पुष्टि भएको र कोरोनासँगै अन्य दीर्घ रोग रहेको निर्देशनालयले जनाएको छ ।

यसैगरी, तनहूँको ब्यास नगरपालिका ४ का ७० वर्षीय संक्रमितको चरक मेमोरियल अस्पतालमै आज दिउँसो १२ बजेर ४५ मिनेट जाँदा मृत्यु भएको थियो । उनमा पनि अन्य दीर्घ रोग रहेको निर्देशनालयले जनाएको छ । छैटौं मृतक पोखरा १६ का २८ वर्षीय युवक रहेका छन् । उनको गएराति १० बजेर ४५ मिनेट जाँदा मनिपाल टिचिङ अस्पतालमा निधन भएको थियो । उनमा गत १६ गते कोरोना पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७