प्रवास

मलेसियाले नेपाली कामदारको कोटामा अरु देशका कामदार लैजान थाल्यो

मलेसियाले नेपाली कामदारको कोटामा अरु देशका कामदार लैजान थाल्यो

७ महिनादेखि नेपाली कामदार मलेसिया जान बन्द भएपछि मलेसियाले नेपाली कामदारको विकल्प खोज्न सुरु गरेको छ । ७ महिनाअघि नै कलिङ भिसा पाएका नेपाली कामदार मलेसिया जान नपाएपछि मलेसियाको रोजगारदाता कम्पनीले नेपालीको नाममा निस्केको भिसा रद्द गरी अन्य मुलुकका कामदारलाई दिन सुरु गरेको हो ।

मलेसियाले शुक्रबारदेखि नेपाली कामदारको कलिङ भिसा रद्द गरी त्यही कोटामा अन्य मुलुकका कामदारलाई भिसा जारी गर्न सुरु गरेको हो । मलेसियाले नेपाली कामदारका नाममा जारी भएको भिसा रद्द गरी श्रीलङ्का, बङ्गलादेश, म्यानमार र पाकिस्तानका कामदार ल्याउन रोजगारदाता कम्पनीलाई स्वीकृति दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गते मलेसिया जाने नेपाली कामदारमाथि ५ अर्ब ठगी गर्ने बायोमेट्रिक, भीएलएन, वान स्टेप सेन्टर, जीएसजी तथा माईग्राम्सलाई खारेजीको घोषणा गर्दै कारवाहीको दायरामा ल्याएको थियो । श्रममन्त्री गोकर्ण विष्टले कारवाही थालेपछि मलेसिया ७ महिनादेखि बन्द छ ।

लामो समयदेखि मलेसियाको रोजगारी बन्द भएपछि गत कार्तिक १२ गते नेपाल र मलेसियाबीच काठमाडौंमा श्रम समझदारी भएको थियो । समझदारीअनुसार नेपाली कामदारलाई परेको सम्पूर्ण आर्थिक भार मलेसियाका रोजगारदाता कम्पनीले बेहोर्ने छन् । श्रम समझदारी भएको करिब डेढ महिना हुन लाग्दा पनि मलेसिया नखुलेपछि उसले शुक्रबारदेखि नेपाली कामदारको विकल्पमा अन्य मुलुकका कामदार लिन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal