मनोरञ्जन

यसपालीको दशैंमा नयाँ नोट पाइएला र ?

यसपालीको दशैंमा नयाँ नोट पाइएला र ?

हरेक वर्ष दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यसपालीको दशैंमा के गर्ला ? कोरोना भाइरसका कारण नयाँ नोट वितरण हुँदैन कि भन्ने सहजै आकलन गर्न सकिन्छ ।

दशैंको मुखमा नै लकडाउन भए राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्न सक्छ । तर दशैंमा नयाँ नोट नै दक्षिणा दिनु पर्छ भन्ने प्रचलनका कारण कतै यसपाली नयाँ नोट नपाइने हो कि भन्ने सर्वसाधारणलाई लागेको छ ।

हुनत गत वर्ष नै तत्कालीन मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले दशैंमा नै नयाँ नोट वितरण गर्न नहुने बताएका थिए । नयाँ नोट नै दक्षिणामा प्रयोग गर्ने चलनले नोटको आयु घटेको भन्दै यस विषयमा छलफल समेत भएको थियो । त्यसपछि राष्ट्र बैंकले दशैं मात्रै होइन अन्य चाडाबाडमा पनि नयाँ नोट वितरण गर्ने निर्णय गर्यो ।

‘छापिएका नोटहरु आइपुग्न पोहोरको भन्दा अलिकति ढिला हुन्छ भन्ने छ, तर यसपाली दशैं पनि ढिला नै भएकाले खासै त्यस्तो समस्या छैन’

यसपाली पनि नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको योजना छ, तर कोरोनाले कत्तिको असर गर्ला भनेर अहिले राष्ट्र बैंकले कुनै निर्णय भने गरिसकेको छैन । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशन रेवति नेपाल अहिले नियमित प्रक्रियाबाट नयाँ नोट छपाइ भएर आइरहेको बताउँछन् ।

उनका अनुसार दशैंमा वितरण गर्नका लागि नयाँ नोटको खासै अभाव हुने छैन । फेरि थप नयाँ नोट पनि आउने प्रक्रियामा नै रहेको कार्यकारी निर्देशन नेपालले बताए । ‘छापिएका नोटहरु आइपुग्न पोहोरको भन्दा अलिकति ढिला हुन्छ भन्ने छ, तर यसपाली दशैं पनि ढिला नै भएकाले खासै त्यस्तो समस्या छैन’ उनले भने ।

‘दशैं आउन समय छ, हामी असोज १५ गतेतिर के गर्ने भन्ने विषयमा हामीले निर्णय गर्नेछौं’

नयाँ नोट वितरण गर्ने नगर्ने वा के-कसरी गर्ने भन्ने विषयमा भने कुनै छलफल नभएको उनले बताए । अझै दशैं आउन एक महिना भन्दा लामो समय बाँकी रहेका कारण अहिले कुनै छलफल नभएको उनको भनाइ छ । विभागीय प्रमुख नेपालले भने ‘दशैं आउन समय छ, हामी असोज १५ गतेतिर के गर्ने भन्ने विषयमा हामीले निर्णय गर्नेछौं’ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७