मुख्य समाचार

घर-जग्गा कारोबार डामाडोलः ४० प्रतिशतसम्म भाउ घट्यो

घर-जग्गा कारोबार डामाडोलः ४० प्रतिशतसम्म भाउ घट्यो

कोरोना र लकडाउनले घरजग्गा व्यावसायलाई डामाडोल बनाएको छ। गत चैतदेखि जारी लकडाउनका कारण थलिएको घरजग्गा व्यावसाय असारमा लकडाउन खुकुलो भएसँगै ५० प्रतिशतसम्म कारोबार हुन थालेको थियो। तर साउन तेस्रो साताबाट कोरोना संक्रमण उकालो लागेसँगै उपत्यकासहित धेरै जिल्लामा अहिले कारोबार रोकिएको छ।

समुदायस्तरमा कोरोना फैलिएको आशंका भइरहेका बेला सेवाग्राहीको धेरै भिडभाड हुने मालपोत कार्यालय तत्काल सञ्चालनमा आउने छैनन्। सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा नआउने पक्का छ। जसका कारण थलिएको घरजग्गा कारोबार तत्काल तंग्रिने सम्भावना निकै कम छ। पछिल्ल कारोबार भएका ठाउँमा अहिले २० देखि ३० प्रतिशत हाराहारीमात्रै कारोबार भइरहेको छ।

रेमिट्यान्समा आधारित नेपाली अर्थतन्त्र उकासिन वैदेशिक रोजगारीमा सहजता आउनै पर्छ। जुन अहिलेसम्म सहज हुने कुनै संकेत छैन। कामविहीन भएपछि वैदेशिक रोजगारीमा गएका नेपालीहरु दैनिक हजारौको संख्यामा स्वदेश फर्किरहेका छन्। उनीहरुले पठाएको रेमिट्यान्सको ठूलो हिस्सा घरजग्गामै लगानी हुने गरेको थियो।

त्यस्तै नेपालमा मध्यम आय भएका डाक्टर, वकिल, इन्जिनियर, पाइलट आदि पेशामा भएका मध्यमवर्गले घरजग्गा जोड्ने हुन्। यी पेशा रहेकाहरू कसैको पनि आम्दानी विगत ६ महिनादेखि राम्रो छैन ।

त्यसैले घरजग्गा जोड्ने गरी आम्दानी हुन वा रेमिट्यान्स आउन वर्षौ लाग्न सक्ने अवस्था छ । अहिलेको अवस्थामा आम्दानी नहुने तर बैंक लोनका कारण अप्ठ्यारोमा परेकाहरू बेच्न तयार छन् । तर किन्ने मानिसको अभाव छ । यस्तो अवस्थामा कतिपयको निकै सस्तोमा जग्गा बेच्नुपर्ने बाध्यता छ ।

यसरी खरिदकर्ता नहुँदा अबको २-३ महिनाभित्र घरजग्गाको मूल्यमा ४० देखि ५० प्रतिशतसम्मकै गिरावट आउन सक्ने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७