पत्रपत्रिकाबाट

नेपालगन्जका सडकमा सेना, चोकहरूमा काँडेतार

नेपालगन्जका सडकमा सेना, चोकहरूमा काँडेतार

नेपालगन्ज — नेपालगन्ज उपमहानगरका सबैजसो वडामा कोरोना संक्रमित भेटिएपछि आइतबारबाट सेना परिचालन गरिएको छ । नगरका मूल सडकहरूमा काँडेतार लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञालाई स्थानीयले बेवास्ता गरेपछि सेना सडकमा उतार्नु परेको हो । सेना परिचालनसँगै संक्रमित भेटिएका विभिन्न क्षेत्र सिल गरिएका छन् । धम्बोझी चोकदेखि सेतु विक चोक जाने सडक, पुष्पलाल चोकदेखि हुलाकी राजमार्ग र बसपार्क क्षेत्रलगायतमा काँडेतार लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिल गरिएका क्षेत्रमा बिरामीका लागि औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाइएको बताए । ‘महामारी फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने, ‘यसले नियन्त्रणमा सघाउँछ ।’ कर्मचारीमा कोरोना देखिएपछि नगरभित्रका सातवटा सरकारी कार्यालय बन्द गरिएका छन् ।

उपमहानगरका २३ वडामध्ये १९ वटामा संक्रमण पुष्टि भइसकेको छ । बजार र आवास क्षेत्रमा संक्रमित भेटिएका छन् । संक्रमण नदेखिएका नेपालगन्ज–६ फुल्टेक्रा, वडा १९ वसुदेवपुर, २१ को पुरैनी, २३ को हिरमिनियामा अहिलेसम्म स्वाब संकलन गरेर परीक्षण गरिएको छैन । परीक्षण नभएपछि त्यहाँको अवस्था खुलेको छैन । गत बिहीबारयता चार दिनमा नगर क्षेत्रमा १ सय ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । आइतबार नेपालगन्जस्थित भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३० जना प्रहरी छन् । ठाकुरसिंह थारू, मधु शाही र रूपा गहतराजले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७