मनोरञ्जन

नेपाली फिल्म क्षेत्रका आसलाग्दा ७ हिरोइन [तस्बिरसहित]

नेपाली फिल्म क्षेत्रका आसलाग्दा ७ हिरोइन [तस्बिरसहित]

पछिल्लो समय नेपाली सिने नगरीमा नयाँ-नयाँ नायिकाहरू भित्रिरहेका छन् । जसमध्ये केहीले मात्र आफूलाई हिरोइनका रूपमा परिचित गराउन सफल छन् । धेरैको भने कतिवेला आए, कता गए, अत्तोपत्तो नै हुदैन् ।

पछिल्लो केही वर्ष नेपाली फिल्म उद्योगमा नयाँ पुस्ताका कलाकारको हालिमुहाली छ । अभिनेतामा खास गरेर अनमोल केसी, प्रदीप खड्का, पल शाहहरूको जगजगी छ भने अभिनेत्रीमा साम्राज्ञीराज्यलक्ष्मी शाह, पूजा शर्मा, आँचल शर्मा, स्वस्तिमा खड्काहरू चर्चामा छन् ।

पुराना पात झर्ने, नयाँ पालुवा पलाउने, यो त प्रकृतिको नियमै हो । प्रकृतिको परिधिदेखि कलाकारिता क्षेत्र अछुतो रहने त कुरै भएन । हिजोका दिनमा भुवन केसी, राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, जल शाह, विपना थापा, रेखा थापा, झरना थापाहरूको जगजगी थियो ।

सुहाना थापा

त्यस्तै प्रियंका कार्कि, केकी अधिकारी हुदैँ अहिले अनमोल, प्रदीप, साम्राज्ञी, पूजा, आँचलहरू चल्तीमा छन् । यीसँगै नयाँ हिरो–हिरोइनले पनि बजारमा आफूलाई चलायमान बनाउँदै लगेका छन् ।

वर्षमा एक सयको हाराहारीमा फिल्म प्रदर्शन हुन्छन्। जसमध्ये आधा दर्जन फिल्म मात्रै व्यावसायिक रूपमा सफल मानिन्छन् । कतिपय फिल्मले राम्रो व्यापार गरेनन्, तर सम्भावना बोकेका कलाकार भने जन्माएका छन् ।

उपासना सिंह ठकुरी

जसमध्य ए मेरो हजुर–३ को चर्चा अहिले पनि सेलाएको छैन । सो फिल्मबाट फिल्म उद्योगले नयाँ हिरोइन सुहाना थापा पायो । पहिलो फिल्मबाटै सुहानाले आफूलाई अब्बल अभिनेत्री साबित गरेकी छिन् । यद्यपि, उनमा आगामी फिल्मको चुनौती भने थपिएको छ । अभिनेत्री, निर्देशक झरना थापाकी एकल पुत्री सुहानालाई अहिले नयाँ फिल्मको अफर अाइरहन्छ ।

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले आफ्नो फिल्म क्याप्टेनबाट नयाँ हिरोइन उपासना सिंह ठकुरीलाई प्रस्तुत गरे । क्याप्टेनले औसत व्यापार गरे तापनि उपासनाको अभिनय तथा सुन्दरताले भने तारिफ पायो । उपासनालाई निर्देशक रामबाबु गुरुङले कबड्डी कबड्डी कबड्डी फिल्ममा अनुबन्धित गरेका छन् । उपासनालाई आफ्नो फिल्ममा लिनका लागि निर्माता, निर्देशकले खोज्ने गरेका छन् ।

शिल्पा मास्के

हलिउड फिल्म डाक्टर स्ट्रेन्जमा सानो भूमिकामा देखिएकी शिल्पा मास्केको राम्रो चर्चा हुने गरेको छ । हेमराज बिसी निर्देशित द ब्रेकअपबाट नेपाली फिल्ममा डेब्यु गरेकी उनको पहिलो प्रयास सफल भएन । त्यसपछि शिल्पा अभिनीत अर्काे फिल्म कागजपत्र प्रदर्शन भयो । अपिल विष्टले निर्देशन गरेको कागजपत्रले पनि कमाल देखाउन सकेन । यद्यपि, शिल्पाको हातमा फिल्म भने परिरह्यो ।

अर्की आसलाग्दी हिरोइनमा पर्छिन्, आश्मा गिरी । ऋषिराज आचार्य निर्देशित ड्रिम गर्ल फिल्मबाट डेब्यु गरेकी उनी त्यसअघि रङ टाइम नामक वेबसिरिजमा चर्चित थिइन् । पछिल्लो समय म्युजिक भिडियोमा देखा परिरहेकी उनी फिल्म अभिनयमै करिअर बनाउन चाहन्छिन् ।

आश्मा गिरी

शुभ लभ फिल्मबाट डेब्यु गरेकी सन् २०१७ की मिस टिन कृष्टिन पौडेललाई पनि सम्भावना बोकेकी हिरोइनका रूपमा हेरिन्छ । व्यावसायिक रूपमा शुभ लभ सफल नभए पनि दर्शकबाट भने राम्रो प्रतिक्रिया पाएकाले फिल्ममै केही गर्ने प्रेरणा मिलेको कृष्टिन बताउँछिन् ।

कृष्टिन पौडेल

रणवीर फिल्मबाट दुईजना हिरोइनको ‘इन्ट्री’ भयो सुपुष्पा भट्ट र शुभेच्छा खड्का । व्यावसायिक रूपमा सफल नभए पनि रणवीरमा सुपुष्पाले गरेको कामले भने चर्चा पायो ।

सुपुष्पा भट्ट

समर लभ फिल्मकी रेवती क्षेत्रीलाई पनि सम्भावना बोकेकी हिरोइनका रूपमा हेरिन्छ । सुबिन भट्टराईको चर्चित उपन्यास समर लभमा निर्माण भएको फिल्मले व्यावसायिक सफलता भने हासिल गरेन । तर पनि उक्त फिल्ममा रेवतीले गरेको अभिनयले चर्चा पाएको थियो । भारतमा रहेर मोडलिङ गर्ने गरेकी रेवती चित्तबुझ्दो प्रस्ताव आएमा पुनः नेपाली फिल्ममा अभिनय गर्ने चाहना व्यक्त गर्छिन् ।

रेवती क्षेत्री

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७