समाचार

मलेसिया गएका श्रीमान्‌को अत्तोपत्तो छैन, दुई छोराको पोखरीमा डुबेर ज्यान गयो

मलेसिया गएका श्रीमान्‌को अत्तोपत्तो छैन, दुई छोराको पोखरीमा डुबेर ज्यान गयो

बिर्तामोड नगरपालिका–९ गरामनीमा लकडाउनअघि दुई छोरासँगै बस्दै थिइन् कमला । श्रीमान् दीपक थामी ८ वर्षअघि मलेसिया गएका थिए, त्यसयता उनको अत्तोपत्तो छैन, न पैसा पठाएका छन् न त सम्पर्क छ । श्रीमानलाई पठाउँदा लागेको ऋण बल्लतल्ल तिरिन् । जसोतसो जिन्दगी चल्दै थियो ।

बुधबार अचानक बज्रपात आइलाग्यो । दुई छोरा १५ वर्षका करण र १२ वर्षका अर्जुनको भद्रपुर–२ कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ज्यान गयो । कमला चार वर्षदेखि स्थानीय विष्णु मैनालीको जमिनमा झुप्रो हालेर अलग्गै बस्दै आएकी थिइन् । सासु–ससुरा पनि मैनालीकै जमिनमा बस्थे ।

उनीहरूले ६ धुर किनेका थिए । ६ धुर मैनालीले निःशुल्क दिएका थिए । अहिले उनीहरूसँग १२ धुर जमिन र सानो झुप्रो छ । तर, जग्गा मैनालीकै नाममा छ । कमला स्थानीय थुक्पा कारखानामा काम गरेर छोराहरू पाल्दै थिइन् । घरै नजिकको देवकोटा आधारभूत स्कुलमा उनीहरू पढ्थे । लकडाउन सुरु भएपछि कारखाना पनि बिर्तामोडको चैतुवारीतिर सर्‍यो ।

कमला बेरोजगार भइन् । बिहान–बेलुकी हातमुख जोड्नै समस्या भयो । जेठतिर अचानक आएको ठूलो हुरीले भएको ओत लाग्ने झुप्रो भत्कियो । लकडाउनले रोजगार गुमेको पीडा भोगिरहेकी उनले प्राकृतिक विपत्तिको सामना पनि यहीबेला गर्नुपर्‍यो । दुई छोरालाई पनि पाल्नुपर्ने भएकाले गुजाराका लागि विकल्प सोचिन् ।

अन्ततः जेठको अन्तिम साता कुम्लो कसेर लागिन्, माइतीघर भद्रपुरतिर । माइतीमा रहेका बुढा बाआमालाई हेर्ने र छोराहरूलाई पनि पढाउने उनको सोच थियो । स्थानीय चिया बगानमा पत्ती टिप्‍ने काम सुरु गरेपछि जसोतसो गुजारा चलाउने बाटो खुल्यो । जेठो छोरा करण भद्रपुर–२ कै चमेली बस्तीमा ठूली आमा मनमाया थामीसँग बस्थे ।

बुधबार दिउँसो करण साइकल चढेर मावली घर आइपुगे । हजुरआमा धनमाया पनि त्यसै दिन वृद्धभत्ता बुझ्‍न वडा कार्यालयतिर गएकी थिइन् । आमा कमला पनि उनीहरूको विद्यालयको स्थानान्तरणको प्रमाणपत्र लिन गरामनी गएकी थिइन् । छोराहरूलाई नजिकैको सगरमाथा माविमा भर्ना गर्ने उनको योजना थियो ।

घरमा हजुरबा र अर्जुनमात्रै थिए । उनीहरूले माछा मार्ने र पौडी खेल्ने योजना बुनेछन् । यो योजनामा पल्लो घरका १० वर्षीय अंकुश तामाङ पनि सामेल हुन पुगे । अंकुश र अर्जुन बल्छी बोकेर अघिअघि गए । करण साइकल चढेर पछिपछि । ‘घरबाट निस्किएको पत्तै पाइएन,’ हजुरआमा धनमायाले आँसु पुछ्दै सुनाइन्, ‘घरबाट कहीं निस्किँदैनथ्यो, दाजु आएपछि गएछन् ।’

भद्रपुर–२ कमलाधापका अनिल तामाङका छोरा अंकुश स्थानीय एसियन स्टार बोर्डिङ स्कुल पढ्थे । लकडाउनमा स्कुल बन्द भएपछि घरमै टीभीमा भुलेर बस्थे । छोराको मृत्युले तामाङ परिवारमा पनि बज्रपात परेको छ । अनिल वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन् ।

असोजमा घर फर्किने योजनामा थिए । छोराको मृत्युको खबर उनले पत्याउनै सकेका छैनन् । ‘छोरा बितेको खबर सुनेर इन्तु न चिन्तु हुनुभएको छ,’ आफन्त विमला तामाङले भनिन्, ‘एक्लो छोरा थियो, धेरै माया गर्नुहुन्थ्यो ।’ पोस्टमार्टमपछि तीनै बालकको देउनिया नदीमा अन्त्येष्टि गरिएको छ ।

कमला अब बिल्कुल एक्ली भएकी छन् । श्रीमान् र परिवारको साथ नपाएकी उनलाई दुई छोराको आडभरोसा थियो । अब छोराहरू कहिल्यै फर्किएर आउँदैनन् । ‘मेरो त घरै उजाडियो, छोराहरूको मायाले बाँचेकी थिएँ,’ भक्कानिँदै उनले भनिन्, ‘अब कसरी बाँच्ने होला ?’ याे खबर कान्तिपूरमा पर्वत पोर्तेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७