साहित्य

नातिनीहरू बोकेर म बुढी कहाँ जाऊँ ?

नातिनीहरू बोकेर म बुढी कहाँ जाऊँ ?

७० वर्षीया देवीकुमारी भट्ट घाँसको भारी बोकेर गोठतिर जाँदै थिइन्। अगाडिबाट नचिनेको मान्छेले फोटो खिचेको देखेपछि केही लाज र संकोच मान्दै उनी घाँस भुइँमा राखेर उभिइरहिन्। उनको पछिपछि आइरहेका दुई बालिका पनि कपाल कन्याउँदै र औंला टोक्दै हजुरआमाको छेउ पुगे।

‘गोरुलाई घाँस हाल्न जान लागेको। आउनुस् बस्नुस्’ भन्दै उनी विद्यालयको आँगन पुगिन्। विद्यालयका दुई भवनको बीचको मैदानमा दुईवटा त्रिपाल टाँगिएका थिए। त्यहीँ थुपारिएको थियो उनको झिटीगुन्टा। विद्यालयको कोठाभित्र एउटा कुनामा चार डोको मकै थुपारिएको थियो।

अर्को कुनामा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा लेखिएका बाल्टिन, चुल्होलगायत भाँडाकुँडा, ओढ्ने ओछ्याउनेलगायत लुगाकपडा थिए। अर्को कुनामा बेन्च जोडेर बनाइएको ओछ्यान थियो।

तीन नातिनी लिएर बारपाक सुलिकोट गाउँपालिका-८, तीनखण्डेकी देवीकुमारी विद्यालयमै सुतेको चार दिन भयो। ‘सुतेको भन्नुमात्र, रातको २ बजेसम्म आँखै लागेन’, उनले भनिन्, ‘रातभर उठ्दै झ्यालबाट बाहिर हेर्छु। हेर्दाहेर्दै पाखामा ठूलो पहिरो गयो।

अब यी लालाबालालाई कहाँ लगेर राख्ने भनेर रातभरि मन उडेको चरा भयो।’ रात त जेनतेन बित्यो, अब कहाँ गएर बस्ने भनेर दिनमा पनि पीर मात्रै लाग्ने उनी बताउँछिन्। ७० वर्ष बिताएको तीनखण्डेको आफ्नो घर भएकोतिर फर्केर जान उनलाई पटक्कै मन छैन।

गएको सोमबारको पहिरोले झन्डै तीन नातिनी र उनको एउटै चिहान बनायो। ‘धन्न पल्ला घरका केटाहरू आएर छानाको जस्तामा डड्याङडुडुङ गरेर ब्युँझाएपछि मात्रै बाँचेको। नत्र हाम्रो एउटै चिहान भइसक्थ्यो’, उनले भनिन्, ‘जति बसियो बसियो, पुग्यो। अब त्यहाँ घर बनाएर बस्न त के, हेर्न जान मन पनि छैन।’

देवी ब्युँझिएर भाग्दा छिमेकीको दुईवटा घर पहिरोसँगै बगेर ५० मिटर तल पुगिसकेका थिए। निद्राबाट ब्युँझिनेबित्तिकै देखेको त्यो दृश्यले उनको होशहवास उड्यो। अब घर बनाएर बस्न उनको जग्गा छैन। ‘घर र भएभरको पाखोबारी पहिरोले बगाइहाल्यो।

अब एक बिहानको मेलो खेत छ। त्यो पनि खोलाको किनारमा। घर बनाउन मिल्दैन’, स्थानीय युवा अर्जुन भट्ट भन्छन्, ‘श्रीमान् उहिल्यै बिते। छोरा सहरमा मजदुरी गर्न गएको छ। बुहारी तीन छोरी छोडेर अर्कैसँग गइन्।

देवीकुमारी भट्ट ब्युँझिएर भाग्दा छिमेकीको दुईवटा घर पहिरोसँगै बगेर ५० मिटर तल पुगिसकेका थिए। निद्राबाट ब्युँझिनेबित्तिकै देखेको त्यो दृश्यले उनको होशहवास उड्यो। अब घर बनाएर बस्न उनको जग्गा छैन।
यो परिवारको बिचल्ली छ।’ घर बगाएपछि केही पनि झिक्न नभ्याएको उनको परिवार वडा कार्यालयले दिएको एक बोरा चामलको भरमा बाँचिरहेको छ। सोमबारको पहिरोले तीनखण्डेका तीन घर बगाएको छ। छिमेकी गोकर्ण भट्टको घर पनि ५० मिटर तल पुर्‍याएको छ।

लालबहादुर भट्ट र मायादेवी भट्टको घर पनि पहिराले लगेको छ। सोही पहिराको चिराले सुमित्रा पाण्डे, जानकी पाण्डे, किसान पाण्डे, नीलबहादुर पाण्डे, मानबहादुर पाण्डे, नवराज पाण्डे र सन्तोष पाण्डेको घर पनि धरापमा पारेको स्थानीयवासी नवराज पाण्डेले जानकारी दिए।

समस्यामा परेका सबै घर छोडेर कोही स्कुलको भवनमा कोही हर्राबोटेमा आफन्तको शरणमा बस्न गएको सुरेश भट्टले बताए। ‘भट्ट परिवारको अन्त घर बनाउने जग्गा पनि छैन, यहाँ बस्न मिल्ने त कुरै भएन’, उनले भने, ‘सरकारले तत्कालका लागि खाने र बस्ने व्यवस्था मिलाइदिनु पर्‍यो। दीर्घकालका लागि घरघडेरीको व्यवस्था गरिदिनुपर्छ भन्ने सबैको माग छ।’

बिहान पौने ५ बजे गाउँ बगाएको त्यस दिनको घटनाले भोक निद्रै लाग्न छाडेको स्थानीयवासीको दु :खेसो छ। ‘आइतबारको पहिरोले हाम्रो घरभन्दा केही पर ठूलो पहिरो गयो।

त्यसपछि हामी सुत्नै सकेका छैनौं’, सुरेश भट्टले भने, ‘नभन्दै सोमबार त बिहानै गाउँ लगिहाल्यो। अहिले पनि जताततै चिरैचिरा छ। वरिपरि कतै बस्न मिल्ने ठाउँ छैन।’ भूगर्भविद् आएर भौगर्भिक अध्ययन गर्नुपर्ने उनको माग छ।

रेडक्रसले लत्ताकपडा र भाँडाकुँडा, वडा कार्यालयले एक बोरा चामल, केही नुनतेल र गाउँपालिका कार्यालयले १० हजार रुपैयाँका दरले दिएको राहतको भरमा बाँचिरहेको अर्जुन भट्टले बताए। ‘यत्तिले हामीलाई के पुग्छ र ? खानेकुरा हामी काम गरेर जोहो गर्छौं, बस्ने बासको व्यवस्था सरकारले गरिदिनुपर्‍यो’, उनले भने। याे समाचार अन्नपर्ण पाेस्टमा लेखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७