मुख्य समाचार

अझै पाँच दिन भारीवर्षा, उच्च सतर्कता अपनाउन आग्रह

अझै पाँच दिन भारीवर्षा, उच्च सतर्कता अपनाउन आग्रह

५ साउन – देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराएका थिए ।

सो क्रममा महानिर्देशक बैद्यले यही साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिएका थिए । उनका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ ।

यो मात्रा अझै बढेर २०० मिलिलिटर पानीपर्ने सम्भावना छ । न्यूनचापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको बैद्यले बताए ।

महानिर्देशक बैद्यकाअनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ ।

चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ । उक्त स्थानमा जलसतह आठ मिटर नाघेपछि खतराको तह पार हुनेमा नौ मिटर माथि आइसकेको छ ।

वर्षात् नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ । सो स्थानमा जलसतहले ११ मिटर नाघेपछि सतर्कताको तहपार हुनुपर्नेमा जलसतहले ११.९८ मिटर पार गरेको बैद्यले बताए ।

विभागले खतराको तह पार गरेको स्थानको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तहपार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै कोशीमा सतर्कताको तहपार गरेकाले मङ्गलबारसम्म खतराको तहपार गर्नसक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तहपार गर्नसक्ने अनुमान विभागले गरेको छ ।

यो वर्ष आगामी कात्तिकसम्मै वर्षा हुने सम्भावना रहेको छ । सामान्यतया मनसुन असारमा शुरु भएर असोजमा सकिने भए पनि यो वर्ष भने झण्डै एक महिना पछिसम्म पानीपर्ने देखिएको छ ।

चार महिनामध्ये असारको मध्यदेखि भदौ मध्यसम्म अत्याधिक वर्षात् हुने गर्दछ । तर, यो पटक मौसम सक्रिय भएदेखि नै वर्षात्को दर उच्च रहेको छ । मनसुन हुने चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढीपर्ने समय हो ।

हरेक मनसुनमा बाढी पहिराका कारण हुने क्षति घटीबढी हुने भन्दै बैद्यले यसपटक हिउँदमा र प्रि–मौसममा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्च भएको बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७